अन्तत : नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध
सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताउनु भएको छ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गर्नु भयो । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।
पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।
‘पब्जी’ ले बढाउँदै मानसिक समस्या
— बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।
यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका हुन् । ‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।’
हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको भन्दै उनले थपे, ‘सरकारले तत्काल यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो ।
२०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन् ।
बाल मनोविद् वासु आचार्यका अनुसार अधिकांश बालबालिकाहरू अहिले पब्जीका अम्मली भएका छन् । पब्जीले मानसिक असन्तुलनको अवस्थामा पुगेका बालकहरू उनकोमा दिनहुँ उपचार गराइमाग्न आउँछन् । तिनैमध्येका हुन्, धरानका एक दसवर्षे बालक । जागिरे दम्पतीका सन्तान उनलाई पब्जीको यस्तो लत लाग्यो कि, कक्षामै बस्न नसक्ने भए ।
‘पब्जीमा उनी यति डुबिसकेका थिए कि हातमा मोबाइल नहुँदा छटपटाहट भएर शौचालय आउलाजस्तो भावले उनलाई बिरामीजस्तो बनाउँथ्यो,’ आचार्य भन्नुहुन्छ , ‘मोबाइल दिएपछि भने उनी फेरि दुरुस्त भएजस्ता हुन्थे ।’ धरानदेखि काठमाडौं आइरहन ती बालकका परिवारलाई व्यावहारिक नभएकाले अनलाइनबाटै मनोविद् आचार्यले मनोपरामर्श गरिरहेका छन् ।
PUBG खेल्दै गरेका केही युवाहरु ।
पब्जीले बिगारेका बच्चाहरूको यस्ता थुप्रै उदाहरणहरू डा. आचार्यसँग छ । सात कक्षामा पढ्ने एक बच्चाले आफ्नै बाआमालाई नै थुक्ने र लात्तले हान्ने व्यवहार देखाएपछि उपचारका लागि उनकोमा ल्याए । संसारभरिकै बालबालिकाका माझ छिट्टै नै लोकप्रिय भएको पब्जीले यस्तै विकारहरू धेरै ठाउँमा देखाउन थालेपछि यसलाई प्रतिबन्ध लगाउने क्रम पनि सुरु भएको छ । जस्तो कि, पछिल्लो समय भारतको गुजरात राज्यले यसलाई खेल्न प्रतिबन्ध मात्र लगाएन, खेल्नेहरूलाई पनि पक्राउ गर्यो ।
‘नेपालमा पनि त्यो गर्नुपर्छ किनभने यसले बालबालिकाको सिर्जनात्मक क्षमता पूर्णरूपमा मारिदिने गरेको छ,’ आचार्य भन्नुहुन्छ । विश्व स्वास्थ्य संगठनले गत वर्ष यस्ता खालको लक्षणलाई मानसिक असन्तुलन भनेर प्रमाणितसमते गरिसकेको छ ।