छोरालाई निको पार्न छिमेकी बालकको ‘वली’ दिए कोदइ हरिजनले
परासी, ९ असार ।
एक जना १८ वर्षे युवकलाई निको पार्न भन्दै नवलपरासीमा एक जना १० वर्षे बालकको बली दिइएको छ । प्रहरीले बालकको हत्या गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुले आफूहरुले बालकको बली दिएको स्वीकारेका छन् ।
मंगलवारदेखि बेपत्ता भएकाका कुडिया ४– का १० वर्षका बालक सोनु भन्ने जिवन कोहारलाई ३५ वर्षका कोदई हरिजन, झाँकी ४० वर्षका गंगा हरिजन, ५० वर्षका रुदल हरिजन, सूर्यभान हरिजन र १८ वर्षका विजय हरिजनले बली चढाएका हुन् । १८ वर्षका विजयले विरामी भएपछि मान्छेको बलि चाहियो भन्न थालेको र उसलाई सञ्चो बनाउन आफूले घाँटी रेटेर बच्चाको हत्या गरेको कोदईले प्रहरीसँग स्वीकार गरे । ‘साउन ५ गते विहान भुत सवार हुँदा छोरा खेल्न थाल्यो ।’ कोदईले दिएको बयान उल्लेख गर्दै भने ‘के पुजा चाहिन्छ भनेर सोधे पछि मान्छेको मासु चाहियो भन्न थाल्यो ।’ मान्छेको पूजा दिई आफ्नो छोरा सन्चो हुन्छ भनेर छिमेकीको छोरालाई बली दिएको कोदईले बताए ।
‘त्यहि दिन दिउँसो फेनहरा बजारबाट कपुर अगर वत्ती किनेर ल्याएँ ।’ उनले भने ‘सोखा (झाँक्री)लाई बोलाएँ, सहयोगी रुदल र सूर्यभानलाई पनि बोलाएँ ।’ उनीहरु आइपुग्दा जिवन घर नजिकै खेल्दै थिए । उनीहरुले खेलिरहेका बालकलाई १० रुपैयाँको बिस्कुट दिँदै बोलाए । ‘बिस्कुट दिएपछि जिवन खुसी भए ।’ कोदईले भने ‘मसँग हिँड ५० रुपैयाँ दिन्छु भन्दै नोट देखाएँ, उ खुसी भएर पछि लाग्यो ।’
बालक पैसो देखेर पछि लागेपछि उनीहरुलाई बालकलाई सिवानसम्म र्पुयाए । शोखाले पूजा गरि दिए । अक्षता छर्कि दिए । ‘त्यसपछि रुदलले टाउको र हात समाते, सूर्यभानले खुट्टा, मैंले उखु काट्ने गडासा (धारिलो हतियार) ले अगाडीबाट घाँटी रेटी दिए ।’ प्रहरी हिरासतमा रहेका कोदईले भने ‘बालक चिच्याउन खोज्दा मुख थुनि दियौं ।’
बालकको हत्यापछि पछुतो लागेको कोदई बताए । ‘पछुतो त लागेको छ, तर के गर्ने आफ्नो छोरालाई सन्चो बनाउन थियो ।’ प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यही केटालाई बलि दिन भनेर सोचेको थिएनौं, तर त्यो बेला त्यही बालक फेला प¥यो ।’ बालकका अभिभावकसँग उनको कुनै दुश्मनी थिएन । बालकका परिवारले आफूहरुलाई सहयोग गर्दै आएको पनि उनले सुनाए ।
बालकको हत्या गरेर आएपनि कोदईले यो कुरा पत्नीलाई सुनाएका थिए । पत्निले गाली गरेपछि उल्टै पत्निलाई हप्काएका थिए । यो कुरा गोप्य राख्न उनले पत्नीलाई दवाव दिएको समेत स्वीकारे ।
छिमेकी छोरा हराएको शोकमा थिए । छिमेकीलाई सान्त्वना दिनका लागि खोजेर ल्याईदिन्छ भन्दै कोदई भारत तिर पनि गए । भारतबाट फर्केर गाउँ आएका बेला उनलाई प्रहरीले पक्रियो । ‘गल्ती त गरेको छु ।’ पश्चाताप मान्दै उनले भने ‘अब जे सजाय हुन्छ, त्यो सहन्छु ।’
बली चढाईएका बालक जीवन स्थानीय रैवाखोला नजिकै ३ कक्षामा पढदै थिए । ‘विहान त भुत चढदा उनीहरुले मान्छेको मासु चाहिन्छ भनेको त सुनिएको थियो ।’ बालकका काका लालबहादुरले भने ‘तर आफ्नै भतिजो पर्छ भनेर के थाहा ?’
बालक हराएको दिनदेखि नै आफूले शंका गरेको र कोदईसँग सोधपुछ पनि गरेको लालबहादुरले बताए । तर कोदईले आफूले कुनै नराम्रो नगरेको विश्वास बालकका परिवारलाई दिलाएका थिए । तर बालकको शव भेटिएपछि कोदईकी श्रीमतीले बालकलाई बली चढाएको स्वीकार गरेकी थिइन् । लालबहादुरले भने ‘बालकको लास फेला परेपछि उसको श्रीमतीलाई दुई झापड लगाउदै तिमीहरुले नै हत्या गरेको भनेपछि कोदइकी पत्नि कान्तीले बालकको बली चढाई हत्या गरेको बताई ।’
बालकलाई बलरुी चढाएको खुलासा भएपछि आक्रोशित गाउँलेले कोदई हरिजनको घर तोडफोड गरेर भत्काई दिएका छन् । प्रहरीले बली भन्न नमिल्ने जनाउँदै अभियुक्त ५ जनामाथि कर्तब्य ज्यानमा मुद्दा चलाईने प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।